चैत १३, २०७६
कोरोना भाइरसका कारण विश्व यतिबेला संकटमा छ । कोरोनाको रोकथम र नियन्त्रणका लागि हरेक देशको सरकारले उचित कदम चालेका छन् । तर पनि त्यसको असर प्रत्यक्ष मानिसको दैनिकीमा परिरहेको छ ।
नेपालको सन्दर्भमा मंगलबार बिहान ६ बजेबाट ‘लकडाउन’ लागू गरिएको छ । विश्वका सबै देशका सरकारहरूका साथै अन्तर्राष्ट्रिय संघ संगठनहरूले कोरोनाभाइरस संक्रमणबाट नागरिक बचाउन सहायता प्याकेज सार्वजनिक गरिरहेका छन् ।
एकातर्फ कारोनाको त्रास अर्कोतर्फ खाद्ययान्नको अभाव । कोरोनाको संक्रमणभन्दा पनि भोकभोकै मरिन्छ भन्ने सोच्न थालका छन्, तिल बहादुर कार्की ।
१२ वर्षदेखि अनाथ तथा अपाङ्ग बालबालिकाहरू अभिभावक बनिरहेका कार्की संकटको समयमा लाचार भएका छन् । काठमाडौं कपनमा ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ सञ्चालन गरिरहेका उनी यस्ता पात्र हुन् जो आफैँ फरक क्षमताको भइकन पनि ५० जनाभन्दा बढी बलबालिकाहरूको सहारा बनिरहेका छन् ।
मानौं लकडाउनको सबैभन्दा धेरै असर उनलाई नै परेको छ । उनी भन्छन्– ‘कोरोनाको कारण त खान नै पाइदैन जस्तो छ ।’ दुई दिनदेखि केन्द्रमा जाउलो मात्रै बनेको उनले सुनाए ।
‘कही कतै जान पाइनन् रहेछ हामी त भोकभोकै मर्छै होला,’ त्यसअघि उनले भने– ‘नानीहरूलाई अब के खुवाएर राख्ने ?’
केन्द्रमा द्वन्द पीडितदेखि भूकम्प पीडितसम्मका बालबालिकाहरू रहेको उनले बताए । दयनिय अबस्थामा आश्रित ती बालबालिकाहरूको कोरोनाको संक्रमण र लकडाउनका कारण थप कठिन बन्दै गएको छ ।
केन्द्रमा पछल्लो दिनहरूमा दाल चामलको पनि अभाव हुँदै गएको उनले बताए । केही दताहरूले सहयोगको लागि बोलाएको भएपनि लकडाउनका कारणबीच बाटोबाट फर्कनुपरेको उनको भनाई छ । उनले भने– ‘बाटोमा ट्राफिकले फर्काइदिनु भयो, यता पसलमा कसैले पनि उदारो दिदैनन् ।’
यस्तो अवस्था पनि उनले सरकारको आलेचना भने गरेनन् तर संकटको बेलामा नागरिकको जिम्मेवारी राज्यको रहेको भन्दै सरकारसँग सहयोगको लागि अपिल भने उनले गरे । ‘हाम्रो अवस्था धेरै नाजुक छ’– कार्कीले थपे ।